काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ खिच्ने भएको छ।
राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी दुई महिनाका लागि निक्षेप संकलनको आह्वान गरेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यसमा सहभागिता जनाउन सक्नेछन्।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसभन्दा बढी रकमका लागि ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ।
उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्तो उपकरणमार्फत निश्चित अवधिका लागि रकम खिच्ने गर्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।