काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण तथा अभ्यास खेललाई तीव्रता दिएको छ।
सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछानेबाहेक टोलीका अधिकांश खेलाडी सहभागी छन्। सन्दीप भने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजका लागि नेपाली राष्ट्रिय टोलीसँग रहेका छन्।
टोलीका बसिर अहमद अक्टोबर ९ देखि र लोकेश बम अक्टोबर ११ देखि प्रशिक्षणमा सहभागी हुने जनाइएको छ।
भारतमा जारी प्रशिक्षणका क्रममा विराटनगर किंग्सले रणजी ट्रफी खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइटमा अभ्यास खेलसमेत खेलिरहेको छ। रणजीका अनुभवी खेलाडीसँगको प्रतिस्पर्धाले टोलीका खेलाडीलाई उच्चस्तरीय म्याच अभ्यास र दबाबपूर्ण परिस्थितिमा खेल्ने अवसर दिएको छ।
टोलीको प्रशिक्षण मुख्य प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुका सुलक्सानाले गरिरहेका छन्।
मुख्य प्रशिक्षक प्रसादले भारतमा भइरहेको प्रशिक्षण प्रभावकारी ढंगले अघि बढिरहेको बताएका छन्। उनका अनुसार खेलाडीहरूले नियमित प्रशिक्षणसँगै अभ्यास खेलमार्फत एनपीएलका लागि आफ्नो तयारीलाई थप मजबुत बनाइरहेका छन्।
“भारतमा हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ। खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेका छन् र अभ्यास खेलमार्फत आफूलाई एनपीएलका लागि तयार गरिरहेका छन्,” प्रसादले भने, “यहाँको प्रशिक्षण र म्याच अभ्यासले खेलाडीहरूको तयारीमा निकै सहयोग पुगेको छ।”
एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै विराटनगर किंग्सले फिटनेस, प्राविधिक तयारी र म्याच अभ्यासलाई समान प्राथमिकता दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।