काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले उक्त जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा उनले सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ को मस्यौदा तयार गरिरहेको समेत जानकारी दिए।
उक्त कार्यविधिमार्फत लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी, पूर्वानुमानयोग्य, समयबद्ध, जवाफदेही र प्रविधिमैत्री बनाउने सरकारको तयारी रहेको उनले बताए।
त्यस्तै, केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले चाडपर्वको समयमा कृत्रिम अभाव, कालोबजारी, जम्माखोरी, अस्वाभाविक मूल्यवृद्धि तथा आपूर्ति अवरोध हुन नदिन बजार अनुगमनलाई थप सघन बनाउने निर्णय गरेको छ।
यसका लागि संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने निर्णय भएको प्रवक्ता अर्यालले जानकारी दिए।
उनका अनुसार ‘जेन–जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’को बैठकले एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्णय गर्दै सम्बन्धित सबै मन्त्रालयमा पत्राचारसमेत गरेको छ।
त्यस्तै, हेलो सरकारमा प्राप्त गुनासोको सम्बोधन तथा सहजीकरणका लागि बागमती प्रदेशका विभिन्न जिल्लास्थित सरकारी कार्यालयहरूको स्थलगत अनुगमन भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।