काठमाण्डौ । मर्क्योर काठमाडौं सुकेधारा हाइट्सले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘ग्रीन की’ प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै होटल नेपालमा उक्त अन्तर्राष्ट्रिय इको–लेबल प्राप्त गर्ने पहिलो होटल बनेको छ।
‘ग्रीन की’ फाउन्डेसन फर इन्भाइरोमेन्टल एजुकेसन (FEE) ले सञ्चालन गर्ने दिगो पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय प्रमाणिकरण कार्यक्रम हो। वातावरणीय व्यवस्थापन तथा दिगो सञ्चालनसम्बन्धी कडा मापदण्ड पूरा गर्ने होटल तथा पर्यटन व्यवसायलाई यो प्रमाणपत्र प्रदान गरिन्छ।
मर्क्योर काठमाडौंले ऊर्जा उपयोग, पानीको दक्ष व्यवस्थापन, फोहोर न्यूनीकरण, जिम्मेवार खाद्य स्रोत, कर्मचारी प्रशिक्षण तथा समुदायसँगको सहभागितासहित दिगोपनाका १३ क्षेत्रमा गरिएको स्वतन्त्र मूल्यांकनपछि उक्त प्रमाणपत्र प्राप्त गरेको हो। यससँगै होटल विश्वका ८० भन्दा बढी देशमा रहेका ‘ग्रीन की’ प्रमाणित प्रतिष्ठानहरूको सञ्जालमा आबद्ध भएको छ।
प्रमाणपत्रले होटलको दैनिक सञ्चालनमा दिगो अभ्यास लागू गर्न व्यावहारिक ढाँचा प्रदान गर्ने तथा काठमाडौंको स्थानीय वातावरणीय आवश्यकतासँग अन्तर्राष्ट्रिय मापदण्ड जोड्ने होटलले जनाएको छ। ‘ग्रीन की’ प्रमाणपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने भएकाले होटलले वातावरणीय अभ्यासलाई निरन्तर सुधार गर्दै लैजानुपर्ने हुन्छ।
प्रमाणपत्र प्राप्तिको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जा, होटलका अध्यक्ष देशबन्धु बस्नेत, महाप्रबन्धक अभिषेक पासरिचालगायत होटल टोलीको उपस्थिति थियो।
फ्रान्सेली राजदूत पुइग–इन्जाले मर्क्योर काठमाडौंलाई बधाई दिँदै यो उपलब्धिले दिगो आतिथ्यप्रति होटलको प्रतिबद्धता प्रतिबिम्बित गरेको बताइन्। उनले यसबाट नेपालका अन्य होटल तथा पर्यटन प्रतिष्ठानहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।
मर्क्योर काठमाडौं सुकेधारा हाइट्सका महाप्रबन्धक अभिषेक पासरिचाले नेपालमा यस्तो प्रमाणपत्र पाउने पहिलो होटल बन्नु सम्पूर्ण टोलीका लागि गौरवको क्षण भएको बताए। उनले यो उपलब्धिलाई अन्तिम गन्तव्य नभई दिगोपनातर्फको यात्राको सुरुआतका रूपमा लिएको बताए।
होटलले आगामी दिनमा पनि वातावरणीय अभ्यासलाई निरन्तर सुधार गर्दै पाहुना, कर्मचारी तथा समुदायका लागि जिम्मेवार र अर्थपूर्ण आतिथ्य अनुभव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ।
मर्क्योर सन् १९७३ देखि सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय होटल ब्रान्ड हो। हाल यो ब्रान्डका एक हजारभन्दा बढी होटल ६० भन्दा बढी देशमा सञ्चालनमा छन्। मर्क्योर विश्वका ११० भन्दा बढी देशमा ५ हजार ७ सयभन्दा बढी होटल सञ्चालन गर्ने Accor समूहअन्तर्गतको ब्रान्ड हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।