काठमाण्डौ । सरकारले चाडपर्वको समयमा स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिइएको हो।
कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालका अनुसार चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध आउन नदिन आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
नागरिकले अत्यावश्यक सेवा लिन अनावश्यक सास्ती व्यहोर्नुपर्ने अवस्था आउन नदिनसमेत सरकारको निर्देशन छ।
‘स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात, अस्पताल तथा अन्य अत्यावश्यक सेवा चाडपर्वमा पनि निरन्तर सञ्चालन गर्ने निर्णय भएको छ,’ अर्यालले भने, ‘यसका लागि आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ।’
सरकारले चाडपर्वमा ठूलो संख्यामा कर्मचारी बिदामा रहने तथा सेवाको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाको निरन्तरतामा विशेष जोड दिएको हो।
यसैबीच, सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन तथा सहजीकरणका लागि लगानीसम्बन्धी सरकारी सेवा थप सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमानयोग्य बनाउने तयारी पनि अघि बढाएको छ।
त्यसका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।
उक्त प्रणालीमार्फत लगानीसम्बन्धी सरकारी प्रक्रियालाई सरल र प्रविधिमैत्री बनाउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।