काठमाण्डौ । नेपाल सरकारले ‘विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेकोमा नेपाल निर्माण व्यवसायी महासंघले स्वागत गर्दै सरकारप्रति आभार व्यक्त गरेको छ।
महासंघले सोमबार विज्ञप्ति जारी गर्दै असोज २३ गते स्वीकृत भएको उक्त कार्यविधिलाई मुलुकको पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि र ‘कोशेढुंगा’का रूपमा व्याख्या गरेको हो।
महासंघका महासचिव शिवहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालय, पूर्वाधार विकास मन्त्री तथा मन्त्रालयको सचिवालयको मार्गनिर्देशनमा कार्यविधि स्वीकृत भएको उल्लेख गरिएको छ।
लामो समयदेखि विभिन्न कारणले समस्याग्रस्त बनेको पूर्वाधार क्षेत्रलाई गति दिन मूल्य समायोजनसम्बन्धी विषयलाई महासंघको नवनिर्वाचित कार्यसमितिले प्रमुख एजेण्डाका रूपमा उठाउँदै आएको जनाएको छ।
महासंघका अनुसार अध्यक्षको पहलमा उक्त कार्यविधि स्वीकृत भएको भन्दै सिंगो मन्त्रिपरिषद्प्रति समेत आभार व्यक्त गरिएको छ।
मूल्य समायोजनका लागि आवश्यक निर्देशन दिने प्रतिनिधिसभाअन्तर्गतका पूर्वाधार विकास तथा अर्थ समितिका सभापतिहरू तथा सांसदहरूलाई पनि महासंघले धन्यवाद दिएको छ।
त्यसैगरी नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव तथा विभागका महानिर्देशकहरूले निरन्तर सहजीकरण गरेको भन्दै महासंघले उनीहरूप्रति समेत कृतज्ञता व्यक्त गरेको छ।
महासंघले मूल्य समायोजनको विषयलाई प्राथमिकताका साथ सार्वजनिक बहसमा ल्याउन भूमिका खेलेका सञ्चारमाध्यमलाई पनि धन्यवाद दिएको छ।
सार्वजनिक खरिद ऐनमै मूल्य समायोजनसम्बन्धी व्यवस्था रहे पनि अहिले कार्यविधिमार्फत त्यसलाई थप स्पष्ट रूपमा व्याख्या गरिनुलाई महासंघले वर्तमान सरकारको ‘ऐतिहासिक कदम’ भनेको छ।
उक्त कार्यविधिले पूर्वाधार क्षेत्रको समग्र सुधार, निर्माण कार्यको निरन्तरता तथा विकास आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने महासंघको विश्वास छ।
महासंघले केही महिनाअघि आफ्नो सहकार्यमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ पूर्वाधारमैत्री हुने गरी पारित भएको पनि स्मरण गराएको छ।
आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै मुलुकको पूर्वाधार क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउन सक्रिय रहने प्रतिबद्धता महासंघले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।