काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तसम्म आइपुग्दा बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो।
अमेरिकी डलरमा समेत विदेशी विनिमय सञ्चितिमा वृद्धि देखिएको छ। असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको सञ्चिति भदौ मसान्तमा ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड अमेरिकी डलर पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तको ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँबाट ४ प्रतिशतले बढेर भदौ मसान्तमा ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि बढेको छ। असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति भदौ मसान्तमा ७.२ प्रतिशतले बढेर ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।
भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।