काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड रुपैयाँ, पुँजीगत खर्च ७ अर्ब ६६ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ।
यस अवधिमा सरकारको कुल राजस्व परिचालन भने १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। यसमध्ये कर राजस्व १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँ र गैरकर राजस्व १० अर्ब ७८ करोड रुपैयाँ संकलन भएको छ।
राजस्वभन्दा खर्च बढी
दुई महिनाको अवधिमा सरकारको कुल खर्च राजस्व परिचालनभन्दा बढी देखिएको छ। सरकारी खर्च १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ हुँदा राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँमा सीमित रहेको हो।
यसले आर्थिक वर्षको सुरुवाती चरणमै राजस्व र खर्चबीच दबाब कायम रहेको देखाएको छ।
राजस्वमा अप्रत्यक्ष करको वर्चस्व
सरकारको कुल राजस्व संरचनामा अप्रत्यक्ष करको हिस्सा सबैभन्दा धेरै रहेको छ।
समीक्षा अवधिमा कुल राजस्वमा अप्रत्यक्ष करको हिस्सा ७५.३ प्रतिशत रहेको छ। प्रत्यक्ष करको हिस्सा १८.२ प्रतिशत, गैरकर राजस्वको हिस्सा ५.८ प्रतिशत र अन्य प्राप्तिको हिस्सा ०.७ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा प्रत्यक्ष करको हिस्सा घटेको छ भने अप्रत्यक्ष कर र गैरकर राजस्वको हिस्सा बढेको छ। अन्य प्राप्तिको हिस्सा भने यथावत रहेको छ।
सरकारको आम्दानी संरचना अझै पनि मूल्य अभिवृद्धि कर, भन्सार, अन्तःशुल्कलगायत अप्रत्यक्ष करमा उच्च रूपमा निर्भर रहेको तथ्यांकले देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।