काठमाण्डौ । भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सरकारी अधिकारीका अनुसार झडपमा करिब ४० प्रहरी घाइते भएका छन्।
सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले अघि सारेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’विरुद्ध शुक्रबार राति भएको प्रदर्शन हिंसात्मक बनेको हो। अधिकारीहरूले प्रदर्शनका क्रममा सरकारी कार्यालय, प्रहरी चौकी र जनप्रतिनिधिका घरमा तोडफोड तथा आगजनी भएको बताएका छन्।
मुख्यमन्त्री पेमा खाण्डुले शनिबार पत्रकारहरूसँग कुरा गर्दै भीडले एनएचपीसीको कार्यालय र प्रहरी चौकीमा क्षति पुर्याउनुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेको बताए।
प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर प्रहरी घाइते भएको अधिकारीहरूको भनाइ छ। भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। खाण्डुले परियोजनाप्रति असहमति राख्ने स्थानीयलाई हिंसा त्यागेर सरकारसँग संवाद गर्न आग्रह गरे।
घरजग्गा गुम्ने चिन्तामा स्थानीय
प्रस्तावित बाँधको स्थानीय समुदायले लामो समयदेखि विरोध गर्दै आएका छन्। परियोजना निर्माण भए घर, जमिन र पुख्र्यौली थातथलो गुमाउनुपर्ने उनीहरूको चिन्ता छ।
स्थानीयले सम्भावित विस्थापनसँगै परम्परागत जीविकोपार्जन र वातावरणमा पर्न सक्ने असरबारे पनि प्रश्न उठाएका छन्। प्रारम्भिक अध्ययनकै चरणमा रहेको परियोजनाका विषयमा प्रभावित समुदायसँग पर्याप्त छलफल गर्नुपर्ने मागसमेत उठ्दै आएको छ।
चिनियाँ बाँधको सम्भावित प्रभाव सामना गर्ने भारतको तर्क
भारतले भने तिब्बतमा चीनले अघि बढाएको विशाल जलविद्युत् परियोजनाबाट तल्लो तटीय क्षेत्रमा पर्न सक्ने प्रभावलाई ध्यानमा राखेर सियाङ बाँध आवश्यक रहेको बताउँदै आएको छ।
करिब १६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजनाले ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित गर्न सक्ने नयाँ दिल्लीको चिन्ता छ। प्रस्तावित भारतीय बाँधमा ठूलो जलाशय बनाएर पानी सञ्चय गर्ने र आवश्यक समयमा बहाव कायम राख्न सकिने भारतको तर्क छ।
बेइजिङले भने आफ्नो परियोजनाबाट तल्लो तटीय क्षेत्रमा नकारात्मक असर नपर्ने दाबी गरेको छ।
अरुणाचल प्रदेशलाई लिएर भारत र चीनबीच भूभागसम्बन्धी विवाद पनि कायम छ। चीनले उक्त क्षेत्रलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले आफ्नो अभिन्न भूभाग भन्दै उक्त दाबी अस्वीकार गर्दै आएको छ।
यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार सीमा क्षेत्रमा तनाव व्यवस्थापन गर्न दुवै देश नियमित सम्पर्कमा रहेको बताएका थिए। बाँकी विवाद समाधान गर्न तथा गलत बुझाइबाट तनाव बढ्न नदिन कूटनीतिक र सैन्य संयन्त्रमार्फत प्रयास भइरहेको उनको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।