काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले एक महिनामै २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व उठाएको हो।
असोजका लागि कार्यालयले २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। यस आधारमा लक्ष्यभन्दा करिब २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन भएको देखिन्छ।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट मात्रै २ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको आयातबाट १ अर्ब ८० करोड रुपैयाँ, अलकत्रा अर्थात् बिटुमिन आयातबाट १ अर्ब ४० करोड रुपैयाँ तथा स्याउ र नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोजसम्म कुल ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। सो अवधिमा भने ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ।
यसअनुसार मासिक लक्ष्य असोजमा पार भए पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनाको समग्र लक्ष्य भने अझै पूरा हुन सकेको छैन।
चाडपर्वका बेला आयात बढ्नु तथा इन्धन, एलपी ग्यास, बिटुमिन र फलफूल आयातबाट उल्लेख्य राजस्व उठ्नुले असोजको मासिक लक्ष्य हासिल गर्न सहयोग पुगेको भन्सार कार्यालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।