काठमाडौं। विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले साइबर आक्रमणबाट चोरी भएको ६ अर्ब ३० करोड डलर बराबरको क्रिप्टो सम्पत्तिमध्ये ९० प्रतिशत पुनः जुटाएको जनाएको छ।
कम्पनीले आफ्नै कोष प्रयोग गरी नयाँ टोकन खरिद गरेर चोरी भएको सम्पत्ति पूर्ति गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको हो। बाँकी १० प्रतिशत कम तरलता भएका टोकनमा रहेकाले पुनः खरिद गर्न केही समय लाग्न सक्ने कम्पनीले जनाएको छ।
बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङले बाँकी सम्पत्ति पनि पूर्ति गर्ने प्रतिबद्धता जनाउँदै घटनाको आर्थिक भार प्रयोगकर्ताले बेहोर्नु नपर्ने स्पष्ट पारेका छन्।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले उक्त साइबर आक्रमणमा उत्तर कोरियाको राज्यप्रायोजित ह्याकर समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको जनाएको छ। चोरी भएको क्रिप्टो सम्पत्तिलाई इथेरियममा रूपान्तरण गरिएको र थप रूपमा लुकाउने प्रयास हुन सक्ने एफबीआईको भनाइ छ।
बाइनान्सले क्षति पूर्तिका लागि करिब ६ अर्ब ३४ करोड डलर बराबरको रकम छुट्याएको छ। यसका लागि प्रयोगकर्ताको सम्पत्ति सुरक्षार्थ रहेको एक अर्ब डलरको ‘साफु’ कोष, फ्युचर्स इन्स्योरेन्स फन्ड र कम्पनीको आफ्नै कोष प्रयोग गरिएको जनाएको छ।
आक्रमणपछि रोकिएको रकम झिक्ने सुविधा आइतबारदेखि पुनः सञ्चालन गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।