काठमाण्डौ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ।
शनिबार काठमाण्डौमा सम्पन्न प्रतियोगितामा नाफिजले अपराजित रहँदै ४ अंकसहित उपाधि उचालेको हो। लिग प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा नेपाल आर्थिक पत्रकार समाज (सेजन) दोस्रो र इकोनोमिक मिडिया एसोसिएसन (इमान) तेस्रो भएका छन्।
नाफिजले आफ्नो पहिलो खेलमा सेजनलाई १–० ले पराजित गरेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गणेश श्रेष्ठको पासमा सुदर्शन श्रेष्ठले गरेको गोल निर्णायक बन्यो।
नाफिजले दोस्रो खेलमा इमानसँग गोलरहित बराबरी खेल्दै थप एक अंक जोडेको थियो। यससँगै नाफिज ४ अंकसहित अपराजित रह्यो।
अर्को खेलमा सेजनले इमानलाई १–० ले पराजित गरेपछि नाफिजले प्रतियोगिताको उपाधि सुनिश्चित गरेको हो। सेजन दोस्रो स्थानमा रहँदा इमानले तेस्रो स्थान हासिल गर्यो।
प्रतियोगिताको विजेता नाफिजलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियो। दोस्रो र तेस्रो स्थानमा रहेका टोलीका खेलाडीलाई पनि मेडल प्रदान गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।