काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटा उल्लेख्य रूपमा घटाएको छ ।
कम्पनीले असोज मसान्तसम्म ३५ लाख ७५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ३ करोड ७ लाख ६६ हजार रुपैयाँ घाटामा थियो । यस आधारमा खुद घाटा करिब ८८ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५ करोड ६७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो ५ करोड ३ लाख ७० हजार रुपैयाँ थियो। कुल सञ्चालन आम्दानी पनि ५ करोड ८१ लाखबाट बढेर ६ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको कर्जा नोक्सानी व्यवस्थापनसम्बन्धी इम्पेयरमेन्ट खर्च ४ करोड ४९ लाख रुपैयाँबाट घटेर २ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ ।
फाइनान्सको खराब कर्जा अनुपातसमेत सुधारिएको छ । अघिल्लो वर्ष ८.०८ प्रतिशत रहेको खराब कर्जा घटेर ५.७३ प्रतिशतमा आएको छ ।
कम्पनीले ८ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष कर्जा ५ अर्ब ८ करोड रुपैयाँ थियो ।
कम्पनीको पूँजी पर्याप्तता अनुपात १७.७१ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी भने १.४१ रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १२.१६ रुपैयाँ ऋणात्मक थियो ।
यसैबीच कम्पनीको वितरणयोग्य नाफा १२ लाख ९२ हजार रुपैयाँ सकारात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।