काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३ बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकले पहिलोपटक कारोबार सुरु गरेको १९औँ वर्ष प्रवेशको अवसर पारेर कात्तिक १८ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन्।
बालुवाटार शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर, विदेशी मुद्रा सटहीलगायत सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
आम नागरिकको बैंकिङ सेवामा पहुँच बढाउने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिइएको बैंकको भनाइ छ।
बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिको वृद्धि मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने माध्यमका रूपमा लिएको जनाएको छ।
बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।
ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त गरिमा विकास बैंकले सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।