काठमाण्डौ । जग्गाको नापजाँच सम्पन्न भएको झण्डै एक दशकपछि महोत्तरीका १९६ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले लामो प्रतीक्षापछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन्।
साविक एकडारा गाविसका वडा नम्बर ५, ७, ८ र ९ का स्थानीयलाई नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रको जग्गा नापजाँच २०७३ सालमै सम्पन्न भएको थियो। तर कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयले १० वर्षसम्म लालपुर्जा पाउन सकेका थिएनन्।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि स्थानीयको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ।
लालपुर्जा प्राप्त भएसँगै स्थानीयलाई आर्थिक कारोबारमा समेत सहज हुने भएको छ। अब उनीहरूले कानुनी प्रक्रिया पूरा गरी आफ्नो जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सक्नेछन्।
यससँगै जग्गाको स्वामित्व स्पष्ट हुने भएकाले भूमिसम्बन्धी विवाद समाधान गर्न र सम्पत्तिको कानुनी उपयोग गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।