काठमाण्डौ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आज प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
कसको छ कति सम्पत्ति ?
१. पुष्पकमल दाहाल(प्रधानमन्त्री )
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । यस्तै भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर, भरतपुर महानगरपालिकामा स्वर्गीय पत्नी सीता दाहालको नाममा १ कठ्ठा जमिन रहेको उल्लेख छ ।
विवरण अनुसार प्रधानमन्त्रीसँग ५ तोला सुन समेत छ । विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन ।
२. रबि लामिछाने(उपप्रधान तथा गृहमन्त्री)
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । यस्ते उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । यो जग्गा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख छ ।
गृहमन्त्रीकी पत्नी निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको ३ करोड ७५ लाख रुपैयाँको घर रहेको छ । घर खरिद गर्दा बैंकबाट २ करोड ५० लाख रुपैयाँ ऋण लिएको र १ करोड ५० करोड तिर्न बाँकी रहेको उल्लेख गरिएको छ ।
यस्तै निकिता पौडेलको नाममा ८० तोला सुन, १५-२० केजी चाँदी छ । निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर र ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट खरिद गरेको टाटा नेक्सनको विद्युतीय कार रहेको विवरणमा उल्लेख छ । यस्तै उनी नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको र नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
३. वर्षमान पुन(अर्थमन्त्री)
विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ । त्यसैगरी रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति,एक थान हलुका सवारीसाधन पनि छ ।
४.नारायणकाजी श्रेष्ठ(उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री )
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ रुपैयाँ, गोरखाको सिरानचोक गाउँपालिका ८ मा ३ कित्ता जग्गा, एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना पैत्रिक सम्पत्ति छ ।
यस्तै बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि रहेको विवरणमा उल्लेख छ । उक्त गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरिएको छ ।
५.रघुबीर महासेठ(उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री )
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
यस्तै मन्त्री सेठको नाममा २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन र १.५ किलो चाँदी छ। मन्त्रीकी पत्नीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको छ ।
६. डीपी अर्याल(श्रम, रोजगार तथा सुरक्षा मन्त्री)
श्रम, रोजगार तथा सुरक्षा मन्त्री डीपी अर्यालको नाममा १२ स्थानमा ५ करोड २८ लाख रुपैयाँबराबरको जग्गा, काठमाण्डौमा घर, सुन र नगद मौज्दात रहेको छ ।
उनीसँग १५० तोला सुन , १०० तोला चाँदी र १० तोला हिरा श्रीमती अम्बिका केसी र मन्त्रीको नाममा २ करोड १८ लाख रुपैयाँ श्रीमती केसीका नाममा ६७ हजार कित्ता सेयर, १ करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार रहेको विवरणमा उल्लेख छ ।
यस्तै अर्यालको स्वामित्वमा २ करोड २३ लाख रुपैयाँबराबरको स्वयम्भु स्टार व्याङ्केट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजि लिंक र एपीए ह्याण्डीक्राफ्ट रहेको छ ।
७. सुमना श्रेष्ठ(शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री)
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा १ करोड ५० लाख रुपैयाँ, श्रीमानको नाममा २.४१ करोड रुपैयाँ , एनआईसी एसिया बैंक खातामा १ करोड १५ लाख रुपैयाँ, एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको छ ।
श्रेष्ठको नाममा काभ्रेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा, विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको १ तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप,एक थान स्कुटर, एक थान विद्युतीय गाडी रहेको विवरणमा उल्लेख गरिएको छ ।
८.हितबहादुर तामाङ(संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको नाममा राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ नगद, चल सम्पत्तिमा १३ लाख नगद, नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति र ६ तोला सुन र ७÷८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
९. ज्वालाकुमारी साह(कृषि तथा पशुपन्छी विकासमन्त्री )
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको बाराको कलैया उपमहानगरपालिकामा पुर्ख्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा, श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा ५० कठ्ठा पुर्ख्यौली सम्पत्ति र सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ ।
यस्तै मन्त्री साहको १० तोला सुन, २५ तोला चाँदी, बैंक खातामा ३० हजार रुपैयाँ तलब र ४ कठ्ठामा बनेको अढाइ तल्लाको घर भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
१०. रेखा शर्मा(सञ्चार तथा सूचना प्रविधिमन्त्री )
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको नाममा कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर, ६ तोला सुन र २ तोला चाँदी,
राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख नगद मौज्दात, ३६ लाख बराबरको हुण्डार्इ कार रहेको छ ।