काठमाण्डौ । तिहार, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चाडपर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिसँग समन्वय गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।
तिहारका बेला देउसीभैलो, मेला तथा अन्य सांस्कृतिक गतिविधिका क्रममा हुनसक्ने जुवातास, मदिरा तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडा नियन्त्रण गर्न जोखिमयुक्त क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।
प्रहरीले सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरमार्फत निगरानी बढाउने जनाएको छ। भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोन प्रयोग गरिनेछ।
त्यस्तै, विभिन्न क्षेत्रमा गस्ती, पेट्रोलिङ, चेकप्वाइन्ट, कमान्ड पोस्ट र आकस्मिक जाँचको व्यवस्था मिलाइएको छ।
पटका, भुइँचम्पा, झिरझिरेलगायत विस्फोटक सामग्रीको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सीमा तथा भन्सार क्षेत्रमा निगरानी कडा पारिएको छ। यस्ता गतिविधि देखिए प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न आग्रह गरिएको छ।
चाडपर्वका बेला कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने तथा मिठाईलगायत खाद्यवस्तुमा मिसावट गर्ने गतिविधिविरुद्ध पनि प्रहरीले निगरानी बढाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन भइरहेको प्रहरीले जनाएको छ।
यातायात व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन छुट्ने स्थानमै चालकको लाइसेन्स, मादक तथा लागुपदार्थ सेवन र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरिनेछ। लामो दूरीका सवारीमा दुई चालक अनिवार्य राखिएको छ वा छैन भन्ने विषयमा समेत निगरानी गरिनेछ।
यात्रुको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रबाट स्वदेश फर्किने नेपालीलाई ठगी तथा लुटपाटबाट जोगाउन थप १०८ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ।
प्रहरीले तिहारमा घर खाली गरेर बाहिर जाने नागरिकलाई पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ। लामो समय घर खाली रहने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, नजिकको प्रहरी कार्यालय र छिमेकीलाई जानकारी गराउन तथा गरगहना र बहुमूल्य सामान घरमै नराख्न सुझाव दिइएको छ।
लक्ष्मीपूजाका दिन दियो र मैनबत्ती बाल्दा आगलागीको जोखिम कम गर्न सावधानी अपनाउन, बालबालिकालाई प्रज्वलनशील सामग्रीबाट टाढा राख्न र प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द गर्न पनि आग्रह गरिएको छ।
आगलागी, दुर्घटना तथा अन्य आपत्कालीन घटना तत्काल सम्बोधन गर्न क्विक रेस्पोन्स टिम र सीआरभी टोली तयारी अवस्थामा राखिएको छ।
प्रहरीका अनुसार विशेष सुरक्षा योजना तिहारदेखि छठको भोलिपल्टसम्म लागू रहनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।