शुक्रबार, मंसिर ४,२०८३ 01:31:47
  • शुक्रबार, मंसिर ४,२०८३ 01:31:47
Global IME Bank Limited

हकप्रदको लोभमा शेयर किन्ने होडबाजी, ठूला लगानीकर्तालाई बाहिरिने अवसर बन्दैछ कि सानालाई पासो ?

Bizshala
हकप्रदको लोभमा शेयर किन्ने होडबाजी, ठूला लगानीकर्तालाई बाहिरिने अवसर बन्दैछ कि सानालाई पासो ?
New Office

 

काठमाण्डौ । शेयर बजारमा समग्र सूचक सुस्ताइरहेका बेला हकप्रद शेयर निष्कासनको चर्चाले केही कम्पनीको शेयर कारोबार तताउन थालेको छ। कम्पनीहरूले हकप्रद जारी गर्ने प्रस्ताव सार्वजनिक गर्नासाथ ती कम्पनीको शेयर खरिदमा लगानीकर्ताको आकर्षण बढ्ने गरेको छ। तर हकप्रद पाउने आशामा महँगो मूल्य तिरेर शेयर किन्ने प्रवृत्तिले लगानीकर्तालाई अवसरसँगै जोखिममा पनि पार्न सक्ने देखिएको छ।

पछिल्लो समय एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, राधी विद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जालगायतका कम्पनीको शेयरमा लगानीकर्ताको चासो बढेको छ। यी कम्पनीहरूमा हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव र चर्चाले समेत लगानीकर्ताको ध्यान तानेको बजारका जानकारहरू बताउँछन्।

समग्र बजारमा अपेक्षित सुधार नदेखिएका बेला हकप्रदको सम्भावना भएका कम्पनीका शेयर तुलनात्मक रूपमा बढी चलायमान देखिन थालेका छन्।

लगानीकर्ताका अनुसार अहिले बजारमा अल्पकालीन कारोबार गर्ने लगानीकर्ताको प्रभाव बढी छ। यस्तो अवस्थामा हकप्रद निष्कासनसम्बन्धी सूचनालाई आधार बनाएर शेयर खरिदबिक्री गर्ने क्रम बढेको छ।

उनका अनुसार एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा, राधी, एनआरएन र साहस ऊर्जालगायत कम्पनीको शेयरमा देखिएको सक्रियताका पछाडि हकप्रदको विषय एउटा प्रमुख कारण हुन सक्छ।

तर हकप्रद निष्कासनको घोषणा वा प्रस्तावलाई मात्र आधार बनाएर लगानी गर्नु जोखिमपूर्ण हुने लगानीकर्ताको भनाइ छ।

हकप्रदको सूचना ठूला लगानीकर्तालाई शेयर बेच्ने अवसर ?

हकप्रद शेयरको चर्चाले बजारमा एउटा महत्त्वपूर्ण प्रश्न जन्माएको छ। हकप्रद पाउने आशामा साना लगानीकर्ता शेयर खरिदतर्फ आकर्षित भइरहेका बेला कतै ठूला लगानीकर्ताले यही अवसरमा आफ्नो शेयर बिक्री त गरिरहेका छैनन् ?

बजारका जानकारहरूका अनुसार ठूलो परिमाणमा शेयर होल्ड गरेका लगानीकर्तालाई सामान्य अवस्थामा एकैपटक शेयर बिक्री गर्न कठिन हुन सक्छ। तर हकप्रद निष्कासनको सूचना आएपछि शेयरमा माग र कारोबार बढ्दा उनीहरूलाई शेयर बिक्री गर्न तुलनात्मक रूपमा सहज हुन सक्छ।

यसको अर्थ हकप्रदको सूचना सार्वजनिक भएपछि शेयर मूल्य बढ्नु सधैँ कम्पनीको वित्तीय अवस्था सुधारिएको संकेत नहुन सक्छ।

कतिपय अवस्थामा हकप्रदको चर्चाले सिर्जना गरेको उत्साहलाई पहिले नै शेयर खरिद गरेर बसेका लगानीकर्ताले नाफा सुरक्षित गर्ने अवसरका रूपमा समेत प्रयोग गर्न सक्छन्।

यद्यपि, कुनै निश्चित कम्पनीमा ठूला लगानीकर्ताले योजनाबद्ध रूपमा शेयर बिक्री गरिरहेका छन् भन्ने पुष्टि हुने तथ्याङ्क उपलब्ध छैन।

CG Motors
Garima Development Bank
IME remit

हकप्रद शेयर सित्तैमा पाइँदैन, थप लगानी गर्नुपर्छ

धेरै लगानीकर्ताले हकप्रद शेयर पाउनुलाई अतिरिक्त लाभका रूपमा बुझ्ने गरेका छन्। तर वास्तविकता फरक छ।

हकप्रद शेयर भनेको कम्पनीले आफ्ना विद्यमान शेयरधनीलाई निश्चित अनुपातमा थप शेयर खरिद गर्ने अधिकार प्रदान गर्नु हो। यस्तो शेयर प्राप्त गर्न लगानीकर्ताले तोकिएको रकम भुक्तानी गर्नुपर्छ।

उदाहरणका लागि कुनै कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्दा एक सय कित्ता शेयर भएको लगानीकर्ताले थप एक सय कित्ता खरिद गर्ने अधिकार पाउँछ। प्रतिकित्ता एक सय रुपैयाँको दरमा हकप्रद जारी भए थप १० हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

हकप्रद जारी भएपछि कम्पनीको चुक्ता पूँजी र कुल शेयर संख्या बढ्छ। तर सोही अनुपातमा कम्पनीको नाफा वृद्धि नभए प्रतिशेयर आम्दानीमा दबाब पर्न सक्छ।

त्यस्तै हकप्रदपछिको मूल्य समायोजनका कारण बजार मूल्य पनि घट्न सक्छ। त्यसैले हकप्रद प्राप्त हुने अपेक्षामा उच्च मूल्यमा शेयर खरिद गर्नु सधैँ लाभदायक हुँदैन।

कम्पनीले पूँजी किन बढाउँदैछ भन्ने विषय महत्त्वपूर्ण

विश्लेषकहरूका अनुसार हकप्रद निष्कासनको वास्तविक मूल्याङ्कन कम्पनीले संकलित रकम कहाँ उपयोग गर्छ भन्ने आधारमा गर्नुपर्छ।

कम्पनीले नयाँ आयोजना निर्माण, उत्पादन क्षमता विस्तार वा प्रतिफल दिने व्यवसायमा लगानी गर्न पूँजी जुटाउन लागेको हो भने त्यसले दीर्घकालमा सकारात्मक परिणाम दिन सक्छ।

तर वित्तीय दबाब व्यवस्थापन गर्न, ऋण तिर्न वा कमजोर व्यवसायलाई निरन्तरता दिन हकप्रद जारी गरिएको हो भने लगानीकर्ताले थप सावधानी अपनाउनुपर्ने हुन्छ।

विशेषगरी कम्पनीको प्रतिशेयर आम्दानी, नेटवर्थ, ऋणको अवस्था, नाफा आर्जन गर्ने क्षमता र प्रस्तावित पूँजी उपयोगको योजना अध्ययन नगरी हकप्रदकै आधारमा शेयर खरिद गर्नु जोखिमपूर्ण हुन सक्छ।

३१ कम्पनीको ३३ अर्बभन्दा बढीको हकप्रद पाइपलाइनमा

नेपाल धितोपत्र बोर्डमा हाल ३१ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन्।

यी कम्पनीहरूले कुल ३३ अर्ब २१ करोड ३८ लाख ४९ हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन अनुमति माग गरेका हुन्।

आवेदन दिएका कम्पनीमध्ये आठवटाले आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेका छन्। तर बोर्डको अध्ययन पूरा नभएकाले ती कम्पनीले समेत हालसम्म निष्कासन स्वीकृति पाएका छैनन्।

बोर्डले आवश्यक अध्ययन तथा प्रक्रिया पूरा भएपछि क्रमशः निष्कासन अनुमति दिने जनाएको छ।

यसले आगामी दिनमा पूँजी बजारमा ठूलो परिमाणमा थप शेयर आपूर्ति हुन सक्ने संकेत गरेको छ। यद्यपि, सबै कम्पनीले एकैपटक हकप्रद जारी गर्ने भने होइनन्।

हकप्रदबाट उठेको पूँजी उत्पादनशील क्षेत्रमा परिचालन भए कम्पनी र लगानीकर्ता दुवैलाई लाभ पुग्न सक्छ। तर बढेको पूँजीअनुसार आम्दानी विस्तार हुन नसके प्रतिशेयर प्रतिफल कमजोर बन्ने जोखिम रहन्छ।

त्यसैले लगानीकर्ताले हकप्रदको अनुपातभन्दा पनि कम्पनीको वित्तीय अवस्था, पूँजी उपयोगको उद्देश्य र भविष्यको आम्दानी क्षमतालाई प्राथमिकता दिन आवश्यक छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.