काठमाण्डौ । पछिल्लो समय न्यून विन्दुबाट वाणिज्य बैंकहरुको सेयर २ सातामा नै १८ प्रतिशतले बढेको छ । बजार घटेर वाणिज्य बैंकहरुको सेयर बुक भ्यालु भन्दा तल आईसेको थियो । यसपटकको वियरिसमा वाणिज्य बैंकको सेयर भाउ र सूचक कोभिड अगाडी कै अवस्था अर्थात १०१० को विन्दुमा आएको थियो ।
५ वटा बैंककोे सेयर भाउ त नेटवर्थ मूल्य भन्दा नै तल आएको थियो । यही अवस्थाको फाइदा उठाएर सुरक्षित लगानी गर्ने संस्था र सर्वसाधारणले खरिद बढाए पछि वाणिज्य बैंकहरुको सेयर भाउ बढेको छ । अघिल्लो साता १०१० को विन्दुमा रहेको वाणिज्य बैंक समूहको सूचक यो साता ११९२.७३ को विन्दुमा बन्द भएको छ । यस हिसावले वाणिज्य बैंक समूहको उपसूचक न्यून विन्दुबाट १८ प्रतिशत बढेको छ ।
त्यसैगरि, यो साता मात्रै यस्तो उपसूचक करिब १३ प्रतिशतले उकालो लागेको छ । यसरी वाणिज्य बैंकको सूचक उकालो लाग्नुमा हाई क्याप भएका कम्पनी नबिल बैंक , कृषी विकास बैंक , एनआईसी एशिया, एनएमबी बैंक जस्ता बैंकको सेयर भाउमा लगानीकर्ताको आकर्षण बढ्नु मुख्य कारण देखिएको छ ।
त्यसैगरि, नेटवर्थ भन्द तल बजार मूल्य पुगेका प्रभु बैंक , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक , कुमारी बैंक जस्ता बैंकहरुमा पनि यो साता चमक आएको छ । वाणिज्य बैंकका सेयर भाउमा उकालो लाग्दा खेलाडीका कम्पनीहरुमा भने यो साता चमक हराएको छ ।
यो साता वाणिज्य बैंक समूह १४१ अंक , विकास बैंक समूह करिव ८७ अंक , वित्त समूह ५६.१ अंक , लघुवित्त समूह ४८.३७ अंक जलविद्युत समूह ९५.३६ अंक , लगानी समूह २.९१ अंक , जीवन बीमा समूह ३८७ अंक ,निर्जीवन बीमा समूह ३११.५७ , अन्य समूह ४९.९५ अंक , होटल्स समूह २०.१८ , उत्पादन तथा प्रशोधन समूह ४५.८६ अंक व्यापार समूह ६० अंक र म्युचुअल फण्ड ०.५६ अंकले बढेका छन् ।