काठमाण्डौ । भारतीय सेयर बजार क्र्यास भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)ले एक्लैले बहुमत ल्याउने सम्भावना नदेखिएपछि भारतको सेयर बजार क्र्यास भएको हो ।
आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ५ हजारभन्दा बढीको गिरावट देखिएको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ७२ हजार विन्दु तल आएको छ ।
त्यस्तै निफ्टी ५० पनि १९ सय अंकलेको गिरावटका साथ २१ हजार ३७० विन्दुमा सीमित बनेको छ ।
भारतीय सेयर बजारको यो गिरावट सन् २०२० अर्थात कोरोना महारी पछिकै सबैभन्दा धेरै हो । कोरोना कालमा भारतको सेयर बजार १३.१५ प्रतिशतले घटेको थियो । सन् २०२० को २२ मार्चमा सेन्सेक्स इ न्डेक्स २९ हजार ९१२ विन्दुमा थियो र २३ मार्चमा ३ हजार ९३४ अंकले घटेर २५ हजार ९८१ विन्दुमा झरेको थियो ।
लोकसभा निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म सत्ताधारी पार्टी बिजेपीको गठबन्धन ‘नेशनल डेमानेक्रेटिक एलाइन्स’३०० स्थानमा अघि रहेको छ । संसदमा बहुमतका लागि न्यूनतम २७२ सीट आवश्यक पर्छ र बिजेपी एक्लैले भने यो ल्याउने सम्भावना देखिएको छैन ।
आज भारतको सेयर बजारको सबै सेक्टरमा रातो पोतिएको छ । बैंकहरुको सेयरमूल्य ७.८ प्रतिशतले घटेको छ भने पूर्वाधार ९.१,तेल र ग्यास स्टकको ११.७,सरकारी स्वामित्वका बैंक र कम्पनीको क्रमश १७ र १६ प्रतिशतले सेयरमूल्यमा गिरावट आएको छ ।
निफ्ुटी५० मा कारोबार हुने कम्पनीहरुमध्ये गौतम अडाणीको कम्पनी अडाणी पोर्टको सेयरमूल्य सर्वाधिक खस्किएको छ । यो कम्पनीको सेयरमूल्य हालसम्म १९ प्रतिशतले ओरालो लागिसकेको छ । अन्तिम नतिजा आउँदासम्म चुनावी नतिजामा फेरबदल हुन सक्ने भयका कारण लगानीकर्ता त्रसित बन्दा सेयर बजारमा तीव्र गिरावट देखिएको भारतीय विज्ञहरुले बताएका छन् । बिजेपीले बहुमत ल्याउने सम्भावनाका बीच विगत केहि महिनादेखि भारतीय सेयर बजार निरन्तर उकालो यात्रामा थियो ।