काठमाण्डौं । आईपीओ निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको छ । अर्थमन्त्रालयले धितोपत्र बोर्डको अध्यक्षको रुपमा नियुक्त गरेका नरेन्द्र कुमार राना आईपीओ निष्कासन प्रक्रियामा अनिच्छुक देखिएकाले प्राथमिक निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको हो ।
नेपाल सरकारले हाल धितोपत्र बोर्डमा अध्यक्षको रुपमा नरेन्द्र कुमार रानालाई अध्यक्षको रुपमा पठाएको छ । रानाले कार्यभार सम्हालेको २ साता भन्दा बढी समय भईसकेको छ । कार्यभार सम्हालेसँगै राना हप्तामा २÷३ दिन बोर्डमा आँउने गरेका छन् । उनले धितोपत्र बोर्डमा सबै काम कारबाही अगाडी बढाउन पनि निर्देशन दिएका छन् ।
तर आईपीओ निष्कासनको काम भने तत्कालै अघि बढाउने मनसायमा राना नभएको धितोपत्रस्थित स्रोतले जानकारी दिएको छ । बोर्डमा छिट्टै सरकारले नयाँ अध्यक्ष नियुक्ती गरेर पठाउँदै छ । सम्भवतःअसार महिना भित्रै धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुन सक्ने रानाले बोर्डमा बताएका छन् ।
त्यही कारण अहिले राना आईपीओ निष्कासन जस्ता अन्य देखिने काम गर्न तयार देखिदैनन् । राना कुनै पनि पत्रकारललाई भेट्न पनि अनिच्छुक रहेको स्रोतले बताएको छ । स्रोतले भन्छ,‘उहाँले कसैलाई नभेट्ने भन्नु भएको छ । उहाँले अर्थमन्त्रालयको पनि काम गर्नु पर्छ । धितोपत्र बोर्डमा नियमित रुपमा आउन पनि सक्नु हुन्न । अध्यक्षको नै जिम्मेबारी भएता पनि बोर्ड अध्यक्षले जसरी धितोपत्र बोर्डमै बसेर उहाँले काम गर्नु भएको पनि छैन ।’
धितोपत्र बोर्डमा अहिले नियमित काम बाहेक अन्य कुनै काम अगाडी बढेको छैन । हाल सेबोनमा ३५ वटा कम्पनीको २८ अर्ब रुपैयाँ भन्दा बढीका आईपीओ निष्कासन प्रकृयामा रहेको छ । लामो समयदेखि आईपीओ निष्कासन प्रक्रिया अवरुद्ध हुँदा लगानीकर्ताका साथै कम्पनीहरु पनि प्रभावित बनेका छन् । यसले सर्वसाधारणमा आईपीओ जारी गरेर कम्पनीको वृद्धि विकासका लागि पूँजी जुटाउने योजना बनाएका कम्पनीहरुको योजना प्रभावित बनेको छ । साथै, आईपीओ भरेर केहि आर्जन गर्दै आएका साना लगानीकर्ता समेत प्रभावित बनेका छन् ।
कम्पनीको धितोपत्र बोर्डको अध्यक्ष छनौटको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादूर श्रेष्ठको नेतृत्वको कमिटिले ५ जनाको नाम सिफारिस गरेको छ । जसअन्तगर्त धितोपत्र बोर्ड भित्रैबाट डा .नबराज अधिकारी , मुक्तिनाथ श्रेष्ठ , नेप्सेका सीईओ कृष्ण बहादूर कार्की , सन्तोष नारायण श्रेष्ठ र चिरञ्जिबी चाँपागाईको नाम समितिले सिफारिस गरेको छ । तर कमिटिले ५ जनालाई आफ्नो कार्यपत्र पेश गर्न भने हालसम्म पनि बोलाउन सकेको छैन ।