काठमाण्डौ । अब मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र हुनु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो ।
सोमबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाका अनुसार टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा यस्तो सूचना जारी उल्लेख छ ।
यससँगै अब सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेश गर्नुपर्नेछ । यसअघि भने यस्तो सेवा लिनका लागि नागरिकता प्रमाणपत्रको देखाउनु पर्ने व्यवस्था थियो ।
यस्तै माघ १ गतेदेखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा, निवृत्तीभरण, राजश्व (व्यक्तीगत आयकर दर्ता), सवारी चालक अनुमतीपत्र, कम्पनी दर्ता तथा नविकरण सम्बन्धी सेवा र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरिएको छ ।