काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले पुनः२ करोड ५० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । बुधबार कम्पनीको सेयरमूल्य हालसम्मकै उच्च कायम भएपछि बेजोसले अमेजनको ५ बिलियन डलर मुल्यबराबरको २.५० करोड कित्ता सेयर बिक्री गर्ने घोषणा गरेका हुन् ।
यसअघि गत फेब्रुअरीमा बेजोसले ८.५ बिलियन डलर मूल्यबराबरको सेयर बिक्री गर्ने घोषणा गरेका थिए । त्यसबेला बेजोसले सन् २०२१ पछि पहिलोपटक कम्पनीको सेयर बिक्री गरेका थिए । कम्पनीले क्लाउड कम्प्युटिङ व्यवसायमा हात हालेकाले एआई प्रविधिले आम्दानीमा उछाल आउने लगानीकर्ताको विश्वासका कारण कम्पनीको सेयरमूल्य यो वर्ष ३० प्रतिशतले वृद्धि भईसकेको छ ।
गत महिना कम्पनीको बजार पूँजीकरण पहिलोपटक २ ट्रिलियन डलर पुगेको थियो । तर कम्पनीको बजार पूँजीकरण अझै पनि अन्य प्रविधि कम्पनी जस्तै एनभिडिया, एप्पल र माइक्रोसफ्टको तुलनामा भने कम नै हो । यी सबै कम्पनीको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ ।
गत अप्रिलमा सार्वजनिक भएको त्रैमासिक प्रतिवेदनमा कम्पनीको आम्दानीमा उछाल आएको थियो । यसले कम्पनीले एआई क्षेत्रमा खेलेको दाउले प्रतिफल दिईरकेको संकेत गरेको छ ।
बेजोफले सन् २०२१ मा कम्पनीको प्रमुख कार्यकारी पद छाडेका थिए । अहिले उनी कार्यकारी अध्यक्ष र सबेभन्दा ठूलो सेयरधनीको रुपमा रहेका छन् ।
बेजोसले सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए ।