काठमाण्डौ। बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ।
सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो।
सरकारले इलेक्ट्रिक गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तःशुल्क बढाएको छ। नयाँ नीति अनुसार अन्य इलेक्ट्रिक गाडी जस्तै बीवाईडीका विभिन्न मोडलको समेत मूल्यमा असर परेको हो।
नयाँ मूल्य सूची अनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार र एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ। यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य बढेको छ।
यस्तै, बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार बाट ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ। यसमा १ लाख ३५ हजार रुपैयाँ मूल्य बढेको छ।
बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ। यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ।
साइमेक्स इंकले आगामी दिनमा समेत नेपाली ग्राहकलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।