काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले ४.३ मेगावाटको फेदीखोला हाइड्रोपावरमा ५० करोड लगानी गर्ने भएको छ। बिहीबार राष्ट्रिय वाणिज्य बैंक र फेदीखोला हाइड्रोपावर कम्पनी प्रालिबीच फेदीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति भएको जनाएको छ।
फेदीखोला हाइड्रोपावर कम्पनीका अनुसार ४.३ मेगावाट क्षमतामा बन्ने आयोजनामा कम्पनी र बैंकबीच ऋण सम्झौता भएको हो।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ मा निर्माण हुने आयोजनामा बैंकले ५० करोड लगानी गर्ने छ।
कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड रहने छ।
हाल प्रालिअन्तर्गत रहेको कम्पनी साउनको अन्त्यसम्म लिमिटेडमा रूपान्तरण गरी सर्वसाधारणमा सेयर जारी गर्ने जनाएको छ।
ऋण सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।