काठमाण्डौ। नेपालकै ठूलोमध्ये एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई-सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब भएको छ। गुगलले प्ले स्टोरबाट ‘ई-सेवा’ को एप गायब भएपछि यसका प्रयोगकर्ताले चासो राखेका छन्।
‘ई-सेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट गायब भएको विषयमा कम्पनीले केही जानकारी दिएको छैन। यसबारेमा कम्पनीका अधिकारीले पनि प्रतिक्रिया दिन इन्कार गरेका छन्।
एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ। गुगल प्ले स्टोरबाट ई-सेवा एप गायब भए पनि आईओएस प्लाट फर्ममा भने यथावत छ।
नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा ‘ई-सेवा’ चिनिन्छ। डिजिटल भुक्तानी एपबारे यसअघि पनि प्रश्न उठ्ने गरेको थियो। एपको सुरक्षालाई लिएर उपभोक्ताहरूले जिज्ञासा राख्दै आएका छन्।