काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिक्री हुने जारको पानीको मूल्यमा ३ रुपैयाँले घटेको छ । वाणिज्य आपूर्ती उपभोक्ता संरक्षण विभागले काठमाण्डौ उपत्यकामा बिक्री हुने जारको पानी(२० लिटर)प्रतिगोटाको अधिकतम खुद्रा बिक्री मूल्य ४७ रुपैयाँ कायम गरेको छ ।
त्यस्तै बोटल एक लिटरको अधिकतम खुद्रा बिक्री मूल्य १६ रुपैयाँ निर्धारण गरेको छ । यसअघि (२० लिटर) क्षमताको जार प्रतिगोटाको अधिकतम बिक्री मूल्य ५० रुपैयाँ रहेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी व्यवस्था रहेको छ ।
तर विभिन्न होटल/रेष्टुरेन्ट,व्यवसायिक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर,नापतौल र परिमाणको पानीमा फरक/फरक एमआरपी लगाई बजार पठाउने गरिएको पाइएकाले सो कार्य उपभोक्ता संरक्षण ऐन विपरीत भएकाले उक्त कार्य नगराउन विभागले निर्देशन दिएको छ । यो व्यवस्था कार्यान्वयन नगरेको पाइएमा कानून बमोजिम कारवाही हुने विभागले जनाएको छ ।