काठमाण्डौ । एउटा भनाइ छ –युद्ध, प्रेम र सेयर बजारमा जे पनि हुन सक्छ । त्यही भनाईलाई पुष्टि गर्ने गरि नेपालको सेयर बजारमा पनि केही कम्पनीको सेयरभाउ निकै अस्वभाविक बढेको देखिन्छ ।
विश्व बजारमा एक कित्ता सेयरको भाउले २ वटा घर नै पनि आउन सक्छ । उदारणका लागि वर्कशायर हाथवे कम्पनीको सेयर मुल्य अहिले पनि प्रतिकित्ता ७ लाख ८ हजार अमेरिकी डलर रहेको छ । जहाँ अमेरिकमा नै एक कित्ता सेयरले २ वटा घर आउन पनि सक्छ । नेपालमा नै नेप्सेमा सूचीकृत सबै भन्दा महँगो कम्पनी युनिलिभर नेपालको सेयर भाउ ४७ हजार १७५ रुपैयाँ रहेको छ । त्यस पछि राष्ट्रिय बीमा कम्पनीको सेयर भाउ प्रतिकित्ता १६ हजार ८५५ रुपैयाँ रहेको छ ।
तेस्रोमा बोटलर्स नेपाल बालाजुको सेयर भाउ १६ हजार ६६२ रुपैयाँ , बोटलर्स नेपाल तराइको सेयर भाउ १४ हजार ३०१ रुपैयाँ ,साल्ट ट्रेडिङ कम्पनीको ५ हजार ७३५ रुपैयाँ छ भने छैटौं स्थानमा आत्मनिर्भर लघुवित्तको सेयर भाउ ५ हजार २२६ रुपैयाँ रहेको छ । आज बजार ५१ अंकले घट्दा पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर अपर सर्किट लागेको छ ।
यहाँ अनौठो के त छ भने यो कम्पनीको प्रतिसेयर आम्दानी भने २५ रुपैंयाँ नेगेटिभ रहेको छ । तर यसको मूल्य यति उच्च हुनुको एक मात्रै कारण लो क्याप नै हो । कम्पनीको जम्मा पूँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको छ । जसमा सर्वसाधारणतर्फ ३२.६३ प्रतिशत अर्थात २ लाख २० हजार कित्ता सेयर मात्रै सर्वसाधारणमा रहेको छ ।
यही लो क्यापको फाइदा उठाएर सेयरको भाउ ५ हजार माथि पुगेको ब्रोकर हाउसहरुमा चर्चा सुनिन्छ ।
उच्च मूल्य हुनेमा विशाल बजार कम्पनी पनि रहेको छ । यो कम्पनीको सेयर भाउ आज ४ हजार २७० रुपैयाँ रहेको छ । यस्तै समाज लघुवित्त, युनिक नेपाल लघुवित्त, उपकार लघुवित्त र गुराँस लघुवित्तको सेयरमूल्य पनि उच्च छ । यी कम्पनीहको पनि सेयर मुल्य उच्च हुनुमा पहिलो कारण लो क्याप नै हो ।