काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
बैठकले शतप्रतिशत(१ः१ अनुपात) अर्थात ९६ करोड २५ लाख रुपैयाँको रु.१०० अंकित दरका ९६ लाख २५ हजार कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको छ ।
यस्तै बैेठकले हकप्रद निष्कासनको प्रस्ताव आगामी विशेष साधारण सभा र वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय समेत गरेको छ । कम्पनीले क्षतिग्रस्त आयोजना पुनःनिर्माणका लागि हकप्रद जारी गर्ने जनाएको छ ।
कम्पनीद्वारा प्रवर्द्धित पाँचथर जिल्लाको हेवा खोलामा निर्माण सम्पन्न भएको हेवा खोला ‘ए’ जलविद्युत आयोजना १४.९ मे।वा। क्षमता परियोजनाको लागि सानिमा बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी अन्य धनि वैंक तथा वित्तीय संस्थाहरुसंग कर्जा सुविधा सम्झौता सम्पन्न भई कर्जा लिई आयोजना निर्माण सम्पन्न भएको र नियमित रुपमा साँवा तथा ब्याज भुक्तानि समेत भइरहेको छ ।
२०८० असार २ गते राति करिब १ बजेवाट अविरल बर्षाका कारण हेवा खोलामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको र सोको मर्मत संभार गरि गत असोज १५ गतेबाट आयोजना सूचारु गर्ने उद्धेश्यले कार्य हुँदै गईरहेकोमा पूनः असोज १० गते गते आएको बाढीले आयोजनामा क्षति पुग्न पुगेको थियो ।
आयोजनालाई पुनः संचालनमा ल्याउन संरचनाहरुको पुनः निर्माण तथा मर्मतको लागी सहवित्तीयकरणमा सहभागी बैकहरुसँग थप कर्जा लिई आयोजना पुन निर्माणको कार्य भइरहेको र हाल बैंकको कर्जा भुक्तानी गर्ने उद्धेश्यले हकप्रद जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                