काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले सेयर बजारमा कुल ७ करोड ४३ लाख ४५ हजार रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीले बैंक, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डहरुमा कुल ७ करोड भन्दा बढी लगानी गरेको छ ।
बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको ५ प्रतिशत रकम सूचीकृत कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्थाअनुसार युनाइटेड साढे ७ करोड रुपैयाँ सेयरबजारमा लगानी गरेको हो ।
कम्पनीले ६ वटा कमर्सियल बैंक, एक विकास बैंक, दुई वित्त कम्पनी, एक लगानी र एक हाइड्रोपावर कम्पनीमा ५ करोड ७१ लाख २३ हजार रुपैयाँ लगानी गरेको छ । यता सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुमा पनि कम्पनीले लगानी गरेको छ ।
गत आवमा कम्पनीले १० वटा म्युचुअल फण्डमा कुल १ करोड ७२ लाख २१ हजार रुपैयाँ लगानी गरेको छ ।
सूचीकृत कम्पनीमध्ये युनाइटेड अजोड इन्स्योरेन्सले सर्वाधिक मल्टिपर्पस फाइनान्स कम्पनीको प्रोमोटर सेयरमा कुल ३ करोड ९५ लाख ८६ हजार रुपैयाँ लगानी गरेको छ ।
प्रोमोटर बाहेक सर्वसाधारण सेयरतर्फ भने अप्पर तामाकोशी हाइड्रोपावरको सेयरमा कुल ३३ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ । जसको कस्ट ५३ लाख ८१ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
यता १० वटा म्युचुअल फण्डहरुमध्ये भने कम्पनीले सर्वाधिक सनराइज फोकस्ड इक्विटी फण्डमा कुल २३ लाख रुपैयाँ लगानी गरेको छ । सबैभन्दा थोरै एनएमबी सरल बचत–ई म्युचुअल फण्डमा कम्पनीले जम्मा ९५ हजार रुपैयाँ मात्रै लगानी गरेको छ ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानी निर्देशिका जारी गर्दै कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म सेयरबजार अर्थात सूचीकृत कम्पनीको सेयरमा लगानी गर्न पाउने बाटो खोलिदिएको छ ।
जसअनुसार निर्जीवन बीमा कम्पनीहरुले अब कायम चुक्तापुँजी साढे २ अर्ब रुपैयाँको ३७ करोड ५० लाख रुपैयाँ सेयरबजारमा लगानी गर्न पाउनेछन् । सेयरबजार विश्लेषण गरी जोखिम कम हुने र प्रतिफल पाउने खालका कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्सले लगानीको दायरा बढाउने कम्पनीले जनाएको छ ।