काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांश पारितको मुख्य प्रस्तावसहित २४ औं साधारण सभा आज आयोजना गर्दैछ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको थियो ।
उक्त सभा काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गरेको थियो । यसर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।