काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा माघ २० गतेका लागि डाकिएको छ । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुने छैन ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले माघ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।