काठमाण्डौ । चीनले खस्कदो अर्थतन्त्रलाई उकास्न किचेनका सामाग्रीहरुमा भारी छुटको व्यवस्था गरेको छ । चीन सरकारले कमजोर बनेको अर्थतन्त्रलाई लयमा ल्याउन आम मानिसहरुले छुट मूल्यमा खरिद गर्न सक्ने सामाग्रीको सूची विस्तार गर्दै यस्तो निर्णय गरेको हो ।
सूचीका अनुसार अब आम चिनियाँ उपभोक्ताले माइक्रोवेभ ओभन,डिसवासर, राइस कुकर र वाटर प्युरीफायरमा छुट पाउने भएका छन् । चीन सरकारले किचेन सामाग्रीमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
सरकारद्वारा प्रवद्र्धित छुट योजनामा विद्यतीय उपकरणहरु जस्तै टिभी, फोन,ट्याबलेट, स्मार्ट वाच र ईभी तथा हाईब्रिड सवारी साधन भने पहिलेदेखि नै समावेश छन् ।। विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनले यतिबेला कमजोर उपभोक्ता माग र प्रोपटी संकट जस्ता थुप्रै चुनौतीहरुको सामना गरिरहेको छ । गत बुधबार चिनियाँ अधिकारीहरुले यो वर्ष उपभोग्य वस्तुहरुको छुटका लागि ११ अर्ब डलर छुट्टाइएको बताएका थिए ।
चीनको आर्थिक योजना बनाउने संस्थाले गत मार्चमा छुट योजना ल्याएको थियो । चीनको वाणिज्य मन्त्रालयका अनुसार छुट योजनाले घरायसी सामाग्री र कारको बिक्रीमा वृद्धि देखिएको छ । तर केही अर्थशास्त्रीहरुले यो योजनाले उपभोग बढाउने विषयमा संशय व्यक्त गरेका छन् ।