काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि ११ गते र स्वरोजगार लघुवित्तले फागुन १३ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।
फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार बन्द हुन्छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आवका लागि ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यस्तै स्वरोजगार लघुवित्तले गत आवका लागि ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश(कर सहित प्रयोजनको लागि) गरी कुल ७.३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा आगामी फागुन ३० स्वरोजगार लघुवित्तको फागुन २६ गते आयोजना हुँदैछ । साधारण सभाबाट लाभांश पारित भएपछि यी दुई कम्पनीका सेयरधनीहरुलाई प्रस्तावित लाभांश प्रदान गरिनेछ ।