काठमाण्डौ । सिन्धु विकास बैंकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । बैंकको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं र १५ औं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी फागुन २८ गते काभ्रेको धुलिखेलमा रहेको होटल मिराबलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्तापूँजी रु १२० करोड पूरा गर्न पहिलो चरणमा हाल कायम रहेको चुक्तापूँजीमा २: १ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर दिने) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक अन्य प्रकृया पूरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा आव २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरिनेछ ।
आव २०८०/८१ को लेखापरीक्षण सम्पन्न गर्न लेखापरीक्षकको नियुक्त गर्ने र स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियुक्तिलाई अनुमोदन समेत गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                