काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्नका लागि युरोपेली देशहरुले लागत तथा खर्च बहन गर्नुपर्ने बताएका छन् । ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनसँग ह्वाटहाउसमा छलफलको क्रममा यस्तो बताएका हुन् ।
उनले उक्त अवसरमा युक्रेनमा शान्ति कायम गर्न अमेरिका एक्लैले खर्च गर्न नसक्ने र यसका लागि सम्पूर्ण युरोपेली देशहरुले समेत खर्च गर्नुपर्ने बताए । ट्रम्पलाई जवाफ दिँदै म्याक्रोनले युरोपले सुरक्षा खर्चलाई समान रूपमा बाँडफाँड गर्नुपर्ने आवश्यकता बुझेको बताए । रुसको आक्रमणको तेस्रो वर्षगाँठमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको पनि उनले बताए ।
यस्तै उनले रुस–युक्रेन युद्धबारे छलफल गरेपछि युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौतामा सुरक्षा ग्यारेन्टी हुनुपर्छ माग राखेका छन् । ‘यस शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन, यसको मतलब बिना ग्यारेन्टी युद्धविराम गर्नु हुँदैन’ म्याक्रोनले सोमबार संयुक्त पत्रकार सम्मेलनमा भने।
यस्तै ट्रम्पले आफूले जतिसक्दो चाँडो युद्धविराम चाहेको र त्यसमा सहमति भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस जाने बताएका छन् ।
हालै जेलेन्स्कीले शान्ति वा नाटोको सदस्यता पाएमा आफू राजीनामा दिन तयार रहेको बताएका थिए ।