काठमाण्डौ । आजको वृद्धिसँगै सेयर बजार निरन्तर ९ दिन बढेको छ । ९ दिनको कारोबारमा बजारमा २१२ अंकको सुधार आएको छ । योसँगै नेप्से, सूचक तथा कारोबारबाट बुलिस बन्दै गएको छ ।
आज धितोपत्र बजार पूँजीकरणले अल टाइम हाईको उचाई चुमेको छ । यस्तै कारोबार पनि ६ महिना यताकै उच्च अर्थात १४ अर्बमाथि पुगेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।
यसले बढ्दो बजारलाई संकेत गर्छ । हाल बजारले अघिल्लो साताको ट्रिपल टपको प्रतिरोधलाई ब्रेक आउट गरेर माथिको यात्रा तय गरेपछि नेप्सेले नयाँ गति लिँदै गरेको देखिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डसँगै हिँडेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि सकरात्मक र लामा–लामा हुँदै गएका छन् ।
आरएसआई भने ओभरबट जोन ८२ को तहमा पुगेको छ । यसअघि यस्तो विन्दु ९० पुगे पछि बजारमा नाफा बुक भएको थियो । मनी फ्लो इन्डेक्समा बजार हाल ६८ को तहमा चलेको छ । बढ्दो बजारमा यस्तो विन्दु ९८ सम्म पनि पुग्न सक्छ । समग्रमा बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार बुलिस बनेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आज पहिलो प्रतिरोध २८७५ लाई ब्रेक गरेको बजारले अब क्रमशः २९३३ र ३०३९ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । यस्तै २८०० , २७६८ र २७०८ मा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।