काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्बन्धमा हमासलाई ‘अन्तिम चेतावनी’ दिएका छन्। ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट गर्दै यस्तो चेतावनी दिएका हुन् ।
ट्रम्पले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, हमासका एक सदस्यले पनि मेरो कुरा सुनेनन् भने सुरक्षित हुनेछैनन् ।’ ह्वाइट हाउसले बन्धकहरूको मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि यो समाचार आएको हो।
आफ्नो सामाजिक सञ्जाल पोस्टमा, ट्रम्पले बन्धकहरूलाई रिहा नगरिए ठूलो मूल्य चुकाउनु पर्ने समेत बताएका छन् । यद्यपि उनले इजरायललाई कस्तो प्रकारको समर्थन पठाउँदै छन् भन्न बारेमा केही स्पष्ट पारेनन् । उनले आफ्नो पोस्टमा थप भनेका छन्, ‘सबै बन्धकहरूलाई तत्कालै नै रिहा गर्नुपर्छ, मारेकाहरूको शव तत्काल फिर्ता गर्नुपर्छ, अन्यथा सबै समाप्त हुनेछ। यो अन्तिम चेतावनी हो। नेतृत्वको लागि, यो गाजा छोड्ने समय हो।’
ट्रम्पले गाजाका नागरिकहरूलाई धम्की दिँदै गाजाका जनताको लागि सुन्दर भविष्य पर्खिरहेको तर बन्धकहरू राखे सबै समाप्त हुने बताएका छन् । ट्रम्पको यो पोष्ट ह्वाइट हाउसमा युद्धविराम अन्तर्गत हालै रिहा भएका इजरायली बन्धकहरूको समूहसँगको बैठक पछि आएको हो।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                