काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाण्डौमा सम्पन्न भएको हो ।
साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
उक्त साधारणसभाबाट आव २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आ।व। को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ८.७ प्रतिशतका दरले हुन आउने रकम २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँबराबरको नगद लाभांश पारित गर्यो । यसै साधारण सभाबाट आव २०८१÷८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन भएको छ।
उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । साथै उनले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।
त्यसैगरि, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१ औं साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताए ।
त्यस्तै, साधारण सभामा सेयरहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए । कम्पनीले ८.७५ नगद लाभांस प्रदान गरेकोमा अधिकांश सेयरधनीहरुले खुशी व्यक्त गरेका थिए ।
साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, सेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                