काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला ४ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि सुनको मूल्य गत फागुन १३ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
गत बुधबार भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै घरेलु बजारमा समेत त्यसको प्रभाव देखिएको हो । अमेरिकाले विभिन्न देशहरुलाई ट्यारिफ लगाएसँगै अन्य देशहरुले समेत अमेरिकाविरुद्ध ट्यारिफको घोषणा गरिरहेका छन् । जसले विश्व व्यापार युद्ध निम्तिने जोखिम बढाएको छ । सुनलाई राजनीतिक र आर्थिक संकटका बेला सुरक्षित लगानीको रुपमा लिइने गरिन्छ ।
लगानीकर्ताले बढ्दो अनिश्चितताका कारण सुनमा लगानी बढाएका छन् । आपूर्तिको तुलनामा माग बढेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिएको विश्लेषकहरुले बताएका छन् ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।