काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न भएको छ । बैंकले गत फागुन १८ गतेदेखि २३ गतेसम्म जारी गरेको ३ अर्ब रुपैयाँबराबरको ‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँड भएको हो ।
बैंकले रितपूर्वक आवेदन दिएकाहरुलाई चैत १ गते ऋणपत्र बाँडफाँड गरेको हो । उक्त ऋणपत्र खरिदका लागि रितपूर्वक आवेदन दिने ५ हजार ६९७ जना आवेदकलाई ११ लाख ४० हजार कित्ता हकप्रद बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ ।
यस्तै व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्टाइएको १८ लाख कित्ता ऋणपत्र पनि बाँडफाँड गरिएको छ ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।