काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरुबाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
निष्कासन भएको तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १० गुणा बढी आबेदन परको छ ।
सीडीएससी एण्ड क्लियरिङका अनुसार तीन दिनसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमा ५ लाख २४ हजार ७८ आवेदकबाट २ करोड ८३ लाख २७ हजार ६१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।