काठमाण्डौ । हुन्डाईले उत्पादन गरेको क्रेटा इभी नेपालमा आज औपचारिक लञ्च भएको छ ।
क्रेटा इभीसँगै नेपालमै एसेम्बल भएको आईस भर्सनको क्रेटा समेत लञ्च गरिएको छ ।
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा इभी र नेपालमै बनेको क्रेटा एक कार्यक्रमका बीच लञ्च गरेको हो ।
ठीक १० वर्षअघि अर्थात सन् २०१५ मा क्रेटा आईस भर्जन लञ्च गरेको कम्पनीले १० वर्षपछि इभीसँगै नेपालमै एसेम्बल भएको क्रेटा लञ्च गर्ने सफलता प्राप्त गरेको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले यसअघि पेट्रोल र डिजलबाट चल्ने क्रेटा नै १० हजार युनिटभन्दा धेरै बिक्री गरिसकेको छ । सोहीबमोजिम कम्पनीले क्रेटा इभी पनि उल्लेख्य बिक्री हुने लक्ष्य लिएको छ ।

कम्पनीका अनुसार हुन्डाई क्रेटा इभीको डिजाइन पेट्रोल इन्जिनसँग मिल्दोजुल्दो छ । यसमा नयाँ ग्रिल, नयाँ हेडलाइट र टेललाइट तथा नयाँ बम्पर राखिएको कम्पनीले जनाएको छ । गाडीमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ लगायत सुविधा रहेको छ ।
क्रेटा ईभीमा युनिक फ्रन्ट र बडी डिजाइनको कारण ग्राहकहरुको रोजाइमा पर्ने कम्पनीको लक्ष्य छ ।
ईभीमा आउँदा थपिएको कलर अप्सन, क्लोज अफ ग्रिल, एक्टीभ एयर फ्ल्याप जस्ता फिचरले यसको फ्रन्टलाई आकर्षक देखाएको छ ।
नयाँ कोना इलेक्ट्रीकबाट प्रेरित थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता फिचरले क्रेटा ईभीलाई सहज र प्रयोगमैत्री बनाएको छ ।
यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् ।
यसका साथै हुन्डाई क्रेटा इभीमा दुईवटा ब्याट्री विकल्प छन् । एउटा ४२ किलोवाट आवरको ब्याट्री छ जसले करिब ३९० किलोमिटरको रेन्ज दिन्छ । त्यस्तै, ५१.४ किलोवाट आवरको ब्याट्रीले करिब ४७० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा बिक्री सुरु गरिएको क्रेटा इभीमा भने ४२ किलोवाट आवरको ब्याट्री रहेको छ ।
क्रेटा आईसको मूल्य ९ लाखले घट्यो, इभीको कति ?

क्रेटाका दुई फरक भर्जन सार्वजनिक गर्ने कार्यक्रममा मूल्यसूची पनि सार्वजनिक गरिएको छ । नयाँ मूल्यसूची अनुसार नेपालमै एसेम्बल भएको क्रेटा आईसको मूल्य आयात गरिएको क्रेटाको मूल्यको तुलनामा ९ लाख सस्तो पर्ने भएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार 'क्रेटा मेड इन नेपाल' थिममा तोकिएको नयाँ मूल्यअनुसार क्रेटा ई पेटोल एमजी मोडलको मूल्य ५३ लाख ९६ हजार तोकिएको छ । यो सेगमेन्टमा क्रेटा एसएक्स(ओ) सीभीटीको मूल्य ७८ लाख ९६ हजार तोकिएको छ । यो मूल्य भनेको २०२५ मोडलका आयातित क्रेटाको तुलनामा ९ लाख सस्तो रहेको थपलियाले उल्लेख गरेका छन् ।

यस्तै, कम्पनीले क्रेटा इभीको मूल्यसूची पनि सार्वजनिक गरेको छ । जसअनुसार क्रेटा इभी एक्जूकेटिभको ५१ लाख ९६ हजार तथा टप भेरिएन्टको रुपमा रहेको क्रेटा इभी प्रिमियमको मूल्य ५९ लाख ९६ हजार तोकिएको छ ।