काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय १३.१८ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालु आवको ८ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत २१ अर्ब १२ करोड रुपैयाँ प्रिमिमय संकलन गरेका छन् ।
यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १३.१८ प्रतिशत बढी हो । गत आवको ८ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ६६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए ।
प्राधिकरणका अनुसार सो अवधिसम्म संकलित प्रथम बीमाशुल्क वैदेशिक रोजगार बीमालेख बाहेकको हो । बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाहेक अन्य बीमालेख बिक्रीमार्फत सो अवधिसम्म २१ अर्ब भन्दा बढी प्रिमियम भित्र्याएका हुन् ।
सो अवधिसम्म आइएमई लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफको प्रथम बीमा शुल्क आर्जन घटेको छ भने बाँकी सबै कम्पनीको यस्तो व्यवसाय गत आवको तुलनामा बृद्धि भएको छ ।
आठ महिनासम्ममा सबैभन्दा बढी नयाँ व्यवसायमार्फत बीमाशुल्क संकल गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले सो अवधिसम्म ५ अर्ब २४ करोड रुपैयाँ प्रिमिमय संकलन गरेको छ ।
त्यस्तै, दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले सो अवधिसम्म ३ अर्ब ३० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीले पनि आठ महिनासम्ममा १ अर्ब ७१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।
यसका साथै हिमालयन लाइफको १ अर्ब ५६ करोड, सुर्यज्योति लाइफको १ अर्ब ५५ करोड, सिटिजन लाइफको १ अर्ब १८ करोड, एशियन लाइफको १ अर्ब ८ करोड, सानिमा रिलायन्स लाइफको १ अर्ब १ करोड, रिलायबल नेपाल लाइफको ८५ करोड २९ लाख, मेट लाइफको ८४ करोड ३३ लाख, प्रभु महालक्ष्मी लाइफको ७९ करोड ८५ लाख, आइएमई लाइफको ७७ करोड ९५ लाख र राष्ट्रि जीवन बीमा कम्पनीको ५४ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको छ ।
गत आवको तुलनामा सबैभन्दा बढी नयाँ व्यवसाय बढ्नेमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको नयाँ व्यवसाय ५० प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ३९.५९ प्रशित, एलआइसी नेपालको २६.९७ प्रतिशत, सुर्यज्योति लाइफको १६.२० प्रतिशत, नेशनल लाइफको १५.६१ प्रतिशत, हिमालयन लाइफको १२.५१ प्रतिशत, सिटिजन लाइफको ८.७३ प्रतिशत, एशियन लाइफको ३.६० प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.०४ प्रतिशत र मेट लाइफको २.४४ प्रतिशतले बृद्धि भएको छ ।
प्रिमियम मूल्यमा आइपीओ ल्याएका तीन जीवन बीमकको नयाँ व्यवसाय घट्यो
प्रिमियम मूल्यमा आइपीओ बेचेका तीन जीवन बीमा कम्पनीको भने नयाँ व्यवसाय घटेको छ । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले केही समयअघि प्रिमियम मूल्यमा आइपीओ जारी गरेका थिए ।
यी तीन कम्पनीको प्रथम बीमाशुल्क आर्जन गत आवको तुलनामा घट्न पुगेको छ । सर्वाधिक सन नेपाल लाइफको २८.९६ प्रतिशत घटेको छ । त्यस्तै, आइएमई लाइफको ११ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.१५ प्रतिशतले घटेको छ ।
कम्पनीहरुले आर्जन गरेको प्रथम बीमाशुल्क वैदेशिक रोजगार बीमा व्यवसाय बाहेकको हो । उक्त कम्पनीहरुको नयाँ व्यवसायमा वैदेशिक रोजगार बीमा व्यवसायको ठूलो हिस्सा रहेकाले पनि यस्तो व्यवसाय घटेको देखिएको हो ।
सन नेपाल लाइफ वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने जीवन बीमकहरुमा सर्वाधिक प्रिमियम भित्र्याउने कम्पनी हो । कम्पनीले वैदेशिक रोजगार बीमाबाट मात्रै ठूलो बीमाशुल्क आर्जन गर्ने गरेको छ ।
सो अवधिसम्म सन नेपाल लाइफले वैदेशिक रोजगार बीमामार्फत ८८ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, आइएमई लाइफले १५ करोड ५२ लाख र रिलायबल नेपाल लाइफले ७ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
