काठमाण्डौ। अघिल्लो दिन ५८ अंकले घटेको बजारमा आज करिब ४० अंकको सुधार आएको छ । आज बजार बढेतापनि कारोबारमा भने सुधार आउन सकेको छैन । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बनेको छ । यो प्याटर्न भनेको डार्क क्लाउड प्याटर्नको ठीक विपरित प्याटर्न हो ।
यदि बढ्दो बजारमा डार्क क्लाउड कभर प्याटर्न बन्छ भने बजार तल जाने सम्भावना रहन्छ । तर घट्दो बजारमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बन्छ भने बजारले रिभर्सलको संकेत गर्छ । यस्तो प्याटर्न बन्नको लागि पहिलो क्याण्डल बियरिस मारुबुजु बन्ने गर्छ । त्यसपछिको कारोबारमा ग्याप डाउन ओपनिङ सहित खुलेर अघिल्लो रातो क्याण्डलको तुलनामा दोस्रो हरियो क्याण्डल ५० प्रतिशतले बढेको हुन्छ।
यस्तो क्याण्डल डाउन ट्रेन्डमा बन्ने गर्छ । यस्तो अवस्थामा बजार घट्न रोकिएर रिभर्सलको संकेतको रुपमा बुझिन्छ । बजारलाई आरएसआईबाट नियाल्दा पनि आज ओभर सोल्ड जोनमा ‘डब्लु’ प्याटर्न बनेको छ । यो पनि बजारमा रिभर्सलको संकेत हो । विभिन्न इन्डिकेटरमार्फत नियाल्दा केही समय पहिले शुटिङ स्टार बनेर खसेको बजारले आज पहिलोपटक क्याण्डल स्टिक र आरएसआई मार्फत रिभर्सलको संकेत दिएको हो । तर यसको निश्चिताको लागि भने अझै एक कारोबार नियाल्नु पर्ने हुन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।