काठमाण्डौ । सेयर बजारमा हुने तीव्र उतारचढावको बेला सन्तुलित बनाउने भूमिका खेल्ने गरी स्थापना गरिएको नागरिक स्टक डिलरमा निश्चित व्यक्ति र समूहको हालमुहाली चलिरहेको छ ।
नागरिक स्टक डिलर नागरिक लगानी कोषको बहुस्वामित्वमा स्थापित कम्पनी हो । धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खुले पनि यसले मुख्य भूमिका छाडेर निश्चित व्यक्ति र समूहको मात्र भलो हुने काम गरिरहेको खुल्न आएको हो ।
स्टक डिलरले विभिन्न कम्पनीका धितोपत्रहरुमा लगानी गर्ने गर्छ । कम्पनीहरुको सेयरमूल्य सस्तो भएका बेलामा खरिद बढाउने र मूल्य बढेका बेला बजारमा आपूर्ति बढाएर सन्तुलित गर्ने यसको प्रमुख उद्देश्य हो । तर यो उद्देश्य प्राप्तिमा नागरिक स्टक डिलरको कम भूमिका रहेको लगानीकर्ताहरु बताउँछन् ।
कुनै निश्चित समूहले मिलेमतो गरी बजारलाई काबुमा राख्न नसकोस् भन्ने उद्देश्यले मार्केट डिलर संचालनमा ल्याइएको बताइए पनि परिणाममा त्यस्तो देखिएको छैन ।
पछिल्लो समय नागरिक स्टक डिलरमा रहेको ठूलो सरकारी फण्डको चरम दुरुपयोग गरिएको छ । यसमा केही ठूला ब्रोकर, ठूला लगानीकर्ता र लगानीकर्ता संघसंगठनका केही नेताहरु समेत संलग्न रहेका स्रोत दाबी गर्छ ।
नागरिक स्टक डिलरका एक अधिकारीकाअनुसार मिलेमतोमा यो कम्पनीबाट निकै ठूलो फण्ड ठूला ब्रोकरहरुले अस्वभाविक रुपमा चलाइरहेका छन् । दैनिक निकै उच्च कारोबार गर्दै आएका केही ब्रोकरहरुले नागरिक स्टक डिलरमा रहेको निकै ठूलो फण्डको मिलेमतोमा दुरुपयोग गर्दै १० गुणासम्मको लिमीट लिने गरेका स्रोत बताउँछ ।
'ती ब्रोकरहरुले यहाँबाट १० गुणासम्म लिमीट लिएर ब्रम्हलुट मच्चाइरहेका छन् । तर उनीहरु आफैंले चाहिँ आफ्नो ब्रोकरेज कम्पनीमा आबद्ध लगानीकर्ताहरुलाई लिमीटको सुविधा दिंदैनन् ।' स्रोतले भन्यो -'नागरिक स्टक डिलरबाट १० गुणासम्मको लिमीट लिने ब्रोकरहरुले आफ्ना ग्राहकहरुको सुविधालाई भने ध्यान नै नदिएका देखिन्छ । लिमीटको त झन् कुरै नगरौं ।'
नागरिक स्टक डिलरबाट ब्रोकरहरुले मात्र ब्रम्हलुट मच्चाइरहेका छैनन्, केही ठूला लगानीकर्ता र लगानीकर्ता संघसंगठनका केही नेताहरुको समेत हालीमुहाली चलिरहेको छ ।
'माइक्रोफाइनान्समा खेल्ने लगानीकर्ता संघ संगठनका केही नेताहरुले स्टक डिलरबाटै गैरकानूनी फाइदा(लिमीट) लिएर करोडौं कमाइसकेका समेत देखियो । उनीहरुमध्ये केहीले ५ गुणासम्म लिमीट लिएको देखियो ।' स्रोत भन्छ -'नागरिक स्टक डिलरको यति हदसम्म दुरुपयोग भएको छ कि त्यहाँका उच्च अधिकारीहरुले भौगोलिक हिसाबले समेत आफ्नो क्षेत्रका लगानीकर्ताहरुलाई असीमित लिमीट दिएर सरकारी कोषको दुरुपयोग गरिरहेका छन् ।'
नागरिक स्टक डिलरमा नागरिक लगानीकोषबाहेक नेपाल टेलिकम, पुनर्बीमा कम्पनी लगायतको समेत लगानी रहेको छ ।
लगानीकर्ताहरुले नागरिक स्टक डिलरमा भइरहेको चरम लुट, प्ल्याटफर्मको चरम दुरुपयोग र निश्चित समूह र व्यक्तिले लिइरहेका गैरकानूनी लाभको विषयमा छानबिन गर्नुपर्ने माग गरेका छन् ।
बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले खोलिएको संस्थाले उद्देश्यबाट बिचलित भई निश्चित समूह र व्यक्तिको लाभका लागि मात्र काम गर्दा समग्र बजार प्रभावित भएको भन्दै कडा कारबाहीको माग गरिएको छ ।
नागरिक स्टक डिलरले ब्रोकरेज सेवा, डिपोजिटरी सर्भिस, एड्भाइजरी र मार्जिन लेण्डिङको सेवा समेत दिंदै आएको छ ।
स्टक डिलरको प्रमुख भूमिकाहरू:
बजारमा तरलता (Liquidity) प्रदान गर्ने:
स्टक डिलरले सेयर खरिद तथा बिक्री गर्ने भएकाले बजारमा सेयर कारोबार सहज हुन्छ।
खरिदकर्तालाई सेयर बेच्ने र बिक्रीकर्ताबाट सेयर किन्ने काम गर्छन्।
मूल्य स्थिरता कायम गर्ने (Price Stabilization):
बजारमा अत्यधिक उतार-चढाव हुन नदिन स्टक डिलरले सेयर खरिद-बिक्रीको सन्तुलन मिलाउने काम गर्छन्।
माग र आपूर्तिको आधारमा सेयर मूल्यलाई धेरै अस्थिर हुनबाट जोगाउने प्रयास गर्छन्।
निष्पक्ष कारोबार सुनिश्चित गर्ने:
बजारमा अव्यवस्थित वृद्धि वा गिरावट हुन नदिन स्टक डिलरहरू निष्पक्ष रूपमा कार्य गर्छन्।
तिनीहरूले नियामक निकाय (जस्तै नेपाल धितोपत्र बोर्ड - SEBON) को नियमअनुसार कारोबार गर्छन्।
लगानीकर्ताको विश्वास बढाउने:
स्टक डिलरको उपस्थितिले बजारमा लगानीकर्तालाई सहज सेयर खरिद-बिक्री गर्न सहयोग गर्छ।
यसले लगानीकर्तालाई सेयर बजारमा विश्वास बढाउने काम गर्छ।
बजार विश्लेषण गर्ने:
बजारको प्रवृत्ति अध्ययन गरेर उपयुक्त समयमा खरिद-बिक्री रणनीति अपनाउने।
लगानीकर्तालाई परामर्श दिने काम पनि गर्न सक्छन्।