काठमाण्डौ । एक महिना अगाडी बाँडफाँड भइसकेको नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ अझैपनि नेप्सेमा सूचीकृत हुन सकेको छैन । सेयर पाएका लगानीकर्ताहरुले सूचीकरणमा ढिलाइको कारण खोजिरहेका छन् ।
कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गर्न नसक्दा कम्पनीको आइपीओ सूचीकरणको काम ढिला भएको हो । सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्न सेयर रजिष्ट्रार (आरटीएस(मा हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नियुक्त गरिसकेको कम्पनीले जनाएको छ ।
हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो । कम्पनीले मर्चेन्ट बैंकरको रुपमा काम गर्न लाइसेन्स पाएपनि यसअघि आरटीएसको लाइसेन्स भने प्राप्त गरेको थिएन । कम्पनीका अनुसार हिमालयन इन्भेष्टमेन्टले केही दिनअघि मात्रै आरटीएसको लाइसेन्स प्राप्त गरी नेपाल इन्स्योरेन्सको सेयर रजिष्ट्रारको काम गर्न नियुक्ती पाइसकेको छ ।
‘केही दिनअघि मात्रै आरटीएसको लाइसेन्स पाएर नेपाल माइक्रो इन्स्योरेन्सको सेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मेवार पाएका छौं’ कम्पनीका एक अधिकारीले भने, ‘यसअघि कम्पनीले हामीलाई नै सो सम्बन्धी जिम्मेवारी दिने भनेपनि लाइसेन्स नभएकाले कार्य अगाडी बढाउन पाएका थिएनौं ।’
कम्पनीका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ लिस्टिङको लागि नेप्सेमा निवेदन पेश भइसकेको छ । ‘हामीले सेयर सूचीकृतका लागि सिडिएस एण्ड क्लियरिङमा सम्पूर्ण काम सकेर नेप्सेमा पठाइसकेका छौं’ ती अधिकारीले भने, ‘आज नेप्सेमा नयाँ सीइओ नियुक्त भएकाले सूचीकृत हुन सकेन सम्भवतः भोलि नै सूचीकृत हुने सम्भावना छ ।’
नेपाल माइक्रो इन्स्योरेन्सको सेयर गत फागुन २३ गते बाँडफाँड भएको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                