काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंक अर्थात १.४३ प्रतिशतले घटेर १ हजार ९७२.०९ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३४ प्रतिशतले घटेर ३५१.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन,‘सीआईबीले बैंकहरुलाई पक्राउ गरेपछि लगानीकर्तामा त्रासको वातावरण सिर्जना भएको छ । लगानीकर्ताले असुरक्षित महशुस गरेका छन् । ’
बैंकिङ सेक्टरको सेयर धेरै खसेपछि मार्जिक कलको सम्भावना पनि देखिएको उनले बताए । लगानीकर्ताले सरकारको उपस्थिती महशुस गर्न नसकेकाले बजार घटिरहेको पाठक बताउँछन् । सरकारले पूँजी बजारमा विश्वासको वातावरण बनाउनु्पर्ने र लगानीकर्ताको मनोबल बढाउनुपर्नमा उनको जोड छ ।
अर्का बजार जानकार दामोदर गजुरेल पनि बैंकरहरु समातिएपछि लगानीकर्ताको मनोबल खस्किएको बताउँछन् । आज बजार घट्दा कारोबार बढेकाले केहि प्यानिक सेल आएको उनको बुझाई छ । यद्यपी प्राविधिक रुपमा भने बजार सपोर्ट जोनमा नै रहेकाले केहि करेक्सन भएर बजार फर्कन सक्ने पनि गजुरेल बताउँछन् ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सबै समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै वित्त समूहमा गिरावट आएको छ । वित्त समूह ३.२१ प्रतिशतले घटेको आज बैंकिङ ०.८८,विकास बैंक १.६४,होटल २.२७,हाईड्रो २.६२,लगानी १.५३,जीवन बीमा १.३२,उत्पादन तथा प्रशोधन ०.४६,लघुवित्त १.२८,म्युचुअल फण्ड ०.३६,निर्जीवन बीमा ०.७०,अन्य १.४६ र व्यापार समूह २.५१ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ११ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
त्यस्तै जोशी हाईड्रोपावरको १० करोड १४ लाख,हिमालयन रिको ८ करोड ३ लाख,हाथवे इन्भेष्टमेन्टको ६ करोड ५९ लाख र शिवम सिमेन्टको ५ करोड २१ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज बोटलर्स नेपाल(बालाजु) र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.८६ प्रतिशतले बढेको छ । आज मानुषी लघुवित्तको सेयरमूल्य ३.९८र समाज लघुवित्तको सेयरमूल्य ३.९० प्रतिशतले बढेको छ ।
आज जोशी हाईड्रोको सेयरमूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । यो दिन अपर स्याङगे हाईड्रोको सेयरमूल्य ८.६२,मोलुङ हाईड्रोपावरको ८.०१ र इंवा हाईड्रोपावरको सेयरमूल्य ७.५८ प्रतिशतले घटेको छ ।