काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रेसिप्रोकल ट्यारिफको निर्णयले अमेरिकी सेयरबजारमा भारी गिरावट आउदा विश्वका शीर्ष ३ धनाढ्यले एकै रातमा अर्बौं डलर गुमाएका छन् ।
गत बुधबार ट्रम्पले सबै देशबाट आयात हुने वस्तुहरुमा १० प्रतिशत ट्यारिफ लगाउने र यो निर्णय अप्रिल ५ गतेबाट लागू हुने घोषणा गरेका थिए । यस्तै उनले केही देश तथा क्षेत्र विशेषलाई ५० प्रतिशतसम्मको ट्यारिफको घोषणा पनि गरेका थिए । ट्रम्पको उक्त निर्णयले अमेरिका लगायत विश्वका सेयर बजारहरुमा व्यापक गिरावट आयो । अमेरिकी सेयर बजार मापक इन्डेक्स डाउ जोन्स, एस एण्ड पी ५०० र नास्डक इन्डेक्स बिहिबार र शुक्रबार ५ प्रतिशतभन्दा बढीले घटे ।
सेयर बजारको यो गिरावटका कारण टेस्ला कम्पनीका मालिक एलन मस्कले ३०.९ अर्ब डलर गुमाए । यस्तै अमेजनका मालिक जेफ बेजोसले २३.४ अर्ब डलर र मेटा कम्पनीका संस्थापक मार्क जुकरबर्गले २७.३४ अर्ब डलर गुमाए ।
बुलुमबर्गका अनुसार यो दुई दिनको अवधिमा विश्वका शीर्ष ५०० धनाढ्यको सम्पत्तिमा हालसम्मकै उच्च गिरावट आएको छ । ट्रम्पको नयाँ ट्यारिफ नीतिले विशेष गरी टेक कम्पनीहरुको सेयरमूल्य प्रभावित भईरहेका छन् । अधिकांश अमेरिकी कम्पनीहरु कम्प्युटर चिप्स र आईटी सेवाका लागि चीन, भारत र ताईवान जस्ता देशहरुमाथि निर्भर रहेकाले अमेरिकी कम्पनीहरुको सेयरमूल्य खस्किएको जनाइएको छ ।
ट्रम्पले ताईवानमाथि ३२ प्रतिशत,भारतमाथि २६ प्रतिशत र चीनमाथि ५४ प्रतिशत भन्सार शुल्क निर्धारण गरेका छन् ।