काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले एशियाली खरिदकर्ताका लागि तेलको मूल्यमा भारी कटौती गरेको छ । साउदी अरबले एशियाली खरिदकर्ताका लागि मे महिनाका लागि तेलको मूल्य घटाउने घोषणा गरेको हो । जुन पछिल्लो चार महिनाकै न्यून हो ।
हालै मात्रै तेल उत्पादक तथा निर्याकर्ताकको समूह ओपेक प्लसले तेलको उत्पादन बढाउने निर्णय गरेसँगै साउदी अरबको यस्तो निर्णय सार्वजनिक भएको हो । साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोले मे महिनाका लागि फ्ल्यागशिप अरब लाइट क्रुडको बिक्रीमूल्य मूल्य प्रतिब्यारेल २.३० डलरबाट घटाएर १.२० डलर कायम गरेको छ । यो मूल्य दुबई र ओमानको औषत मूल्यभन्दा बढी हो ।
यो मूल्य विगत दुई वर्षकै उच्च गिरावट हो । यस्तै साउदी अरामकोले लगातार दुई महिना मूल्यमा कटौती गरेको छ । कम्पनीले मे महिनाका लागि एशियाली खरिदकर्तालाई बिक्री गर्ने अन्य ग्रेडको मूल्य समेत प्रतिब्यारेल २.३० डलरले घटाएको छ ।
गत बिहिबार आठवटा ओपेक प्लस राष्ट्रहरुले कच्चा तेलको उत्पादन कटौती गर्ने योजनाविपरित मे महिनामा प्रतिदिन ४ लाख ११ हजार ब्यारेल कच्चा तेलको उत्पादन बढाउने निर्णय गरेका थिए । यो खबरका साथै अमेरिकी ट्यारिफले निम्त्याएको विश्व व्यापार युद्धको जोखिमले विश्वबजारमा कच्चा तेलको मूल्यमा व्यापक गिरावट आएको छ ।
आज डब्लूटीआई क्रुडको मूल्य २.६० प्रतिशतले घटेर प्रतिब्यारेल ६०.३८ डलरमा झरेको छ । यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि २.६१ डलरले घटेर प्रतिब्यारेल ६३.८७ डलर कायम भएको छ ।